मुम्बई । बलिउड अभिनेता बबी देओलको आज ५५ औं जन्मदिन हो । गत वर्ष बबीले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता हात पारेका थिए । फिल्म ‘एनिमल’ मार्फत उनले आफ्नो २८ वर्षको करियरमा पहिलो ब्लकबस्टर फिल्म पाए ।
बबीले आफ्नो २८ वर्ष लामो करियरमा करिब ४५ फिल्म गरिसकेका छन् तर यति लामो करियरमा ‘एनिमल’ एक मात्र फिल्म हो जुन उनको पहिलो ब्लकबस्टर साबित भयो । यसले बक्स अफिसमा करिब ९५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । बबीले एनिमलमा १५ मिनेटको भूमिका मात्रै गरे तर त्यसका लागि उनले ४–५ करोड पारिश्रमिक लिएका थिए ।
यसअघि उनका ६ फिल्म मात्रै हिट भएका थिए । यी हुन्- बरसात, गुप्त, सैनिक, बादल, यमला पगला दिवाना र हाउसफुल ४ । २८ वर्षमा उनका २८ वटा फिल्म सुपर फ्लप साबित भए । उनको पहिलो फ्लप फिल्म ‘और प्यार हो गया’ थियो जसले बक्स अफिसमा ७.२५ करोड मात्रै कमाएको थियो। सोही वर्ष उनका भाइ सन्नी देओलको फिल्म ‘बोर्डर’ रिलिज भएको थियो जसले ३९.६ करोड भारु कमाएको थियो ।- एजेन्सी