कञ्चनपुर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।
जिल्लाको महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई शनिबार ३०÷३० हजारसहित सम्मान गरेको हो। त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गरेका छन्।
खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए। जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताए। होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए।
गत महिना युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएइलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो। सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ।