Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • गोर्खाली कामदार इमान्दार


    •    

    काठमाडौँ – कुनै समय गोर्खाली साम्राज्यको पहिचान वोकेको नेपाल आज राजनीति,कुटनीति,सुरक्षा,प्रशासन,विकास र रणनीतिमा नाजुक हालतमा देखिन्छ । आत्म निर्भरता,गाउँले जीवन, सद्भाव र सहकार्य जस्ता मानवीय गुणहरु बढ्दो शहरीकरणसंगै लोप भएका छन् । अस्थिर सत्ता राजनीतिको फितलो प्रदर्शन, दुई विशाल महाशक्तिहरुका वीच हलचल गर्न नसक्ने अवस्था , शुन्य उत्पादन तथा प्रविधिको आविष्कार र प्रयोगमा लामो समयदेखिको उदासिनता हाम्रो निम्छरो भविष्यका विषाक्त पक्षहरु हुन ।

    राजतन्त्रको अन्त्यपछि हामी गणतन्त्र स्थापनाको खुला परिवेशमा जसरी हुर्कन खोज्यौं त्यहि हामीले हाम्रा पाइलाहरु ठिक ढंगले अगाडि बढाउन सकेनौं । राजनीतिक स्वतन्त्रताको नाराले स्व–उत्पादन,आत्मनिर्भर अर्थतन्त्र र अनौपचारिक आर्थिक प्रणालीलाई पूर्ण रुपमा वेवास्ता गरिदिए । हामीले राजनीतिक व्यवस्थालाई जति प्राथमिकता दियौं आर्थिक ढाँचा र उपरिसंरचनालाई पटक्कै ध्यान दिन सकेनौं ।

    फलस्वरुप गएको एक दशकमा ३५ लाख युवाहरु विदेश निर्यात गरेर हामीले खर्बौ खर्व रेमिट्यान्स पायौं । त्यो रेमिट्यान्स पनि हामीले राजनीतिमा हुर्काएको क्रोनि क्यापिटालिज्म (भाइ भतिजावादी पूँजीवाद) ले निमिट्यान्न पारिदियो । विदेशमा पाखुरा बजारेर घर पठाएको धन श्रीमतीले पाल्ने नाठाहरुले खाइदिए र राष्ट्रको ढुकुटीमा पठाएको धन भ्रष्ट र तिनका आसेपासेहरुले विभिन्न वाहानामा खाइदिए । अव भविष्यको बुढ्यौलीमा न घरमा धन र श्रीमति न राष्ट्रमा ढुकुटी र गतिलो नेता कहिं अवको समय हाम्रो लागि कहाली लाग्दो त हुँदैन । यतिवेला प्रवासी नेपालीहरुको चिन्ताको विषय हो यो ।

    आखिर जे होस पहिचानका हिसाबले अब वीर गोर्खाली इमान्दार नेपाली कामदारमा परिणत भएका छन् । जसरी आजको अत्याधुनिक हात हतियार अघि वीर गोर्खाली सेना निरिह वन्दैछ , त्यसरी नै कुनै दिन इमान्दार नेपाली कामदारको इमान र अवेरसम्म काममा टिक्न सक्ने इस्टामिना लाई रोवोटिक्स युगले पन्छाइदिनेछ । विश्व बजारमा कला र कौशल विनाको नेपाली कामदारका लागि निकट भविष्यमै चुनौतीहरु खडा हुनेछन् र त्यसको सामना नेपाली समाज, यहाँको अर्थ प्रणाली, दैनिक जीवनमा व्यहोर्नु पर्ने छ । ज्ञान विस्तार,राज्य विस्तार हुँदै सैनिक निर्यात गर्ने ठाउँबाट कामदार निर्यात गर्ने ठाउँमा आइपुगेको यस देशको वर्तमानमा सन्नाटा छाएको छ र अवस्था यहि रहि रहे विचलित हुँदै गएको समाजको विष्मयकारी विष्फोटर्लाइ कसैले रोक्न सक्ने छैन ।

  • ताजा समाचार