पृथ्वी नारायण शाहले एकिकरण गरेपछि सिंगो देशका नागरिकलाई गोर्खाली भन्न थालियो । वाँकी पहिचानहरु हराए,जसरी खोलाको पहिचान नदिमा पुगेपछि र नदिको पहिचान महासागरमा पुगेपछि हराउने गर्छ । महासागरको पानीलाई कुनै नदिको अस्तित्वमा राख्न नसकिए झैं गोर्खालीको अस्तित्व पनि अरु कुनै भुगोल वा वाइसे–चौविसे राज्यहरुका रुपमा राख्न सकिएन ।
तर विडम्वना राज्य एकिकरणको त्यस विशाल अभियानमा अंग्रेज जस्तो अनुभवी,चतुर,सु–सज्ज्ति र दाउपेचमा माहिर शक्तिसंग भिड्नुपर्ने कठोर चुनौती आइलाग्यो । जसमा बलभद्रहरुले नालापानीको किल्लाबाट भोकै प्यासै फौज रिट्रिट गर्नु पर्यो र पराजयको पिडामा अमरसिंह थापाले गोसाँइकुण्डमा हाम फाल्नु पर्यो ।
१८१६ को सुगौली सन्धीसंगै टिष्टा र काँकडाको विशाल भु–भाग थप लडाइ नलडिकनै गुमाउनु पर्यो । यद्यपि भोकै प्यासै लड्न सक्ने त्यस गोर्खाली फौजलाई अंग्रेजहरुले बीर गोर्खाली र बहादुर गोर्खालीको परिचय दिए । त्यसपछि पहिलो विश्वयुद्धसम्म नेपालीहरु संसारको बहादुर लडाकु सैनिकका रुपमा व्रिटीसका पक्षमा लडे । जो आज पनि गोर्खा रेजिमेन्टका नामले परिचित छ ।
पहिलो विश्वयुद्धमा गोर्खा सैनिकले देखाएको लडाइको बहादुरी झन अपत्यारिलो थियो । यद्यपि त्यो भाडाको सैनिकका रुपमा काम गर्नु वाहेक खासै देशको सीमाको रक्षा र विकाससंग सम्वन्धित थिएन । गोर्खा सैनिकहरु वीर र बहादुरका नामले परिचित हुँदा हुँदै पनि आजको नेपाल अर्थात गोर्खाली सेना कसैबाट एक इन्च माटो तान्न सक्ने ल्याकतमा छैन । यसको मतलव तेस्रो चरणको गोर्खा सपना अधुरो र अपुरो हो ।