Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • बालेनको स्पष्टीकरण : नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दियौं


    • गोर्खा ड्रीम
    •    

    २४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नर्भिक अस्पतालले बनाएको संरचना हटाउन मानवीय संवेदनाका आधारमा समय दिएको बताएका छन् ।

    मंगलबार दिउँसो नर्भिक अस्पताल पुगेर फर्किएका उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका छन्, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ । नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो ।’

    नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र भत्काउन अल्टिमेटम दिएको थियो । त्यसपछि मंगलबार दिउँसो बालेन आफैं अस्पताल पुगेका थिए ।

    त्यस क्रममा नर्भिकल अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालको सेवा प्रभावित हुने भन्दै तत्काल संरचना भत्काउन नसक्ने बताएका थिए ।

    मेयर बालेनले दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रुपमा बनाइएका संरचना भत्काउनैपर्ने अवस्था रहेको बताएका छन् ।

    ‘अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्यूनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ’ बालेनले फेसबुकमा लेखेका छन् ।

    कुनै कारणले कानुनको पालना गर्न पछि नहट्ने भन्दै बालेनले लेखेका छन् ‘हामी पुनः आग्रह गर्छौं, कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौं ।’

  • ताजा समाचार