काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरी स्रोतले बतायो ।
पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।
उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले बताए । ‘कीर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी अनुसन्धान गर्दैछौं,’ शाहीले भने ।