काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।
प्रधानमन्त्रीसँगै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझ जाेगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने– ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटक पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने– ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’
त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टीआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।
जनयुद्धका महान् सहिदहरूलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उनले नेता कार्यकर्ताहरूलाई यसमा ध्यान दिन आग्रह गरे। आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले सङ्गठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादती र अपमानविरुद्ध सङ्घर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकलादेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले अहिले आफूहरू पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठकबाट सहिदको स्मृति दिवसबारे एकरूपता कायम गर्ने गरी नीतिगत रुपमा व्यवस्था गरिने जानकारी दिए ।