काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए ।
उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।
गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । लामिछानेकै भनाइअनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।