Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • विश्व दृष्टिकोण


    • गोर्खा ड्रीम
    •    

    जुन वस्तुको चित्र र चरित्रको डि एन ए एउटै हुन्छ वास्तवमा त्यहि वस्तु आफ्नो सहि अनुवांशिकी सहित जिउन सक्छ । राजनीतिक विचारधारा एक चित्र हो त्यसले दर्शन,सिद्धान्त र विश्व दृष्टिकोणलाई इंगित र प्रतिविम्वित गर्दछ , संगठन चरित्र हो त्यसले विचारधारात्मक चित्र सुहाउँदो कार्य प्रदर्शन गर्न सक्नुपर्छ । त्यसो भए के नेकपा ले समाजवादी चित्र अनुसार चरित्र प्रदर्शन गरेको छ ? यो प्रश्न नेकपा का लाखौं कार्यकर्ताले आफ्नो नेतृत्वमाथि तेर्साउनुपर्ने बेला आएको छ । एउटा टावरको ओत लागेर अर्को टावरमाथि आक्रमण गर्ने नेपाली कम्युनिष्ट आन्दोलनको स्थापनाकालदेखिको बालरोग हो । कम्युनिष्ट आन्दोलन लक्का जवान हुँदै आफ्नो प्रौढ अवस्थातर्फ अघि बढीसक्यो तर एउटा टावरको ओतबाट वा काँधबाट अर्को टावरमाथि सांघातिक आक्रमण गर्ने हाम्रो बालरोेग परम्परागत सँस्कारका रुपमा विकास भइसकेछ । त्यसकारण सबभन्दा पहिले विना कुनै टावरको साहारा खुला आकाशमा सिद्धान्त,विचारधारा र व्यवहारको जगमा उभिएर नेतृत्वमाथि प्रश्न गर्ने आँट युवा पुस्ताले गर्नैपर्छ ।
    समाजवादको आकाँक्षा र दैनिक काम कारवाही बिच एउटा विशाल खाडल छ त्यो झन भन्दा झन गहिरिदै छ । व्याख्या र कामकारवाहीको अन्तरविरोधले हामीमा एक प्रकारको आसंकाले स्थान लिनसक्छ के तपाइहरुको विश्व दृष्टिकोणको आधार निसन्देह माक्र्सवाद हो ? यदि हो भने राज्यसंयन्त्र र पार्टी संयन्त्र दुबैमा माक्र्सवादी विश्व दृष्टिकोण किन मुखर हुनसक्दैन ? हामी कहिं न कहिं पार्टी संगठन सहि ट्रयाकमा हिंडिरहेको छैन भन्ने बुझाइमा छौं । हामीलाई लाग्ने गर्छ तपाइहरुले बनाएको सांगठनिक संरचना विचार,राजनीति र सिद्धान्तमा आधारित छ त ? पार्टी एकताको तपाइहरुको महान प्रयासका अघि हामी तपाइहरुले भर्ति गर्ने गरेका आसेपासेहरुलाई नेता मान्न तयार भयौं । हामी कमिटी प्रणालीको डालोमा नअटाउँदा चुप बस्यौं,निर्भिकतापूर्वक भन्दा कतिपए अवस्थामा हामी तपाइहरुका स्वेच्छाचारी कदमलाई अनुमोदन गर्ने आज्ञापालक पनि बन्यौं । जुन कम्युनिष्ट पद्धतिमा पथ्र्यो वा पर्दैनथ्यो त्यो छुट्टै बहसको च्याप्टर बन्ला । पाँचौं महाधिवेशन पछिको तत्कालिन एमाले र बालाजुको पाँचौ विस्तारित वैठक पछिको तत्कालिन माओवादी विस्तारै पारिवारिक समाजवादको अभ्यासमा अघि बढे । भनाइको मतलब गरिबहरुको सपनाको शासन व्यवस्था (समाजवादी राज्यसत्ता) ल्याउन अथक संघर्ष गरेका कामरेडहरु आफ्नो परिवार र नातागोतालाई पुग्ने सानो चिटिक्क परेको आफ्नो आँखा वरीपरि राख्न मिल्ने भाई–भतिजा, मामा–भान्जा यस्तै यस्तै रक्त सम्वन्ध र नाता कुटुम्बको संकिर्ण पारिवारिक समाजवादमा अल्झिएको देखेपछि यस अवस्थामा हामी आफैले आफैमाथि प्रश्न उठाएका छौं अहिलेको नेकपाको शिर्ष नेतृत्व देखि कार्यकर्ताका परिवारले समाजवादी राज्यसत्ताको प्रयासका लागि कुनै अमूल्य योगदान गरेको वा गर्ने वाचा गरेको होला ? हामीलाई मानिसहरुले प्रश्न गर्ने गर्छन समाजवाद र निजी स्वामित्व दुई मध्य तपाईहरुका लागि कुन चाँही प्रिय हो ? निजी स्वामित्व नै प्रिय हो भनौं हामी समाजवादका अभियान्ता हौं । समाजवाद भनौं नागरिकले हामी र हाम्रा प्रियजनसंग राखिएको हाम्रो गोप्य सम्पत्तिको एक–एक हिसाब राखेका छन् । त्यसैले स्वामित्व,सम्पत्ति र समाजवाद एक अर्काका परिपुरक हुन विपरित होइनन् भन्दै कृत्रिम र कुटनीतिक जवाफ दिएर हामी आफूमाथिको प्रश्न हटाउने प्रयास गर्छौं । जुन जवाफले आफैलाई सन्तुष्टी दिन सक्दैन त्यसले प्रश्न सोध्ने र जिज्ञासा राख्नेहरुलाई के सन्तुष्टी दिन्छ होला र ? कहिलेकाँही मानिसहरुले हामीलाई प्रश्नको हतकडी लगाउँछन र एक आध घण्टा नैतिक हिरासतमा राख्ने गर्छन् किनकी हामी सडकमा हुन्छौं सडकमा भएकाहरुलाई भेट्न र जिज्ञासा राख्न आम मानिसहरुलाई सहज हुन्छ । एक दिन मेरा एक जना मित्रले मलाई चिया पसलमा जिज्ञासामै आक्रमण गरे कामरेड अन्य कुनै पेशा र आयश्रोत विना तपाइ राजनीतिक नेता कार्यकर्ताहरु कसरी रातारात सम्भ्रान्त जीवन शैलीमा आइपुग्नुुहुन्छ ? हामीलाई पनि उपाय सिकाइदिनुस न । मैले भने म विगत १४ बर्षदेखि काठमाडौंमा राजनीतिसंगै पेशा पनि गर्छु । मलाई कहिलेदेखि सम्भ्रान्त देख्नथाले तपाइका आँखाले ? मित्रले हाँस्दै भने आफ्नो कुरा गरेर पन्छिन मिल्दैन नि कामरेड तपाइको पार्टीका सम्भ्रान्तहरुको विबरण दिनसक्ने ल्याकत राख्छु मैले । म संग कुनै जवाफ थिएन मैले भने अब देखि यस्ता विवरण, व्यंग्य र सूचना जसको बारेमा जससंग सम्वन्धित छन् उसैलाई दिनु मलाई नसुनाउनु ।सायद यो, सडकमा आम मानिसहरुसंग फेस गर्ने धेरै कार्यकर्ताको अनुभव हुनुपर्छ । वर्तमानको यो वास्तविकतालाई ढाकछोप गर्दै कामरेडहरुले भन्नुहुन्छ हामी दृढतापूर्वक समाजवादको बाटोमा अघि बढ्ने चेष्टा गर्दैछौं । प्रिय कमरेडहरु एक छिन शान्त दिमागले सोच्नुस तपाइहरुका दैनिक गतिविधि,खानपान, भेट्घाट र सम्पूर्ण क्रियाकलापहरुमा व्यक्तिवाद अभिव्यक्त भइरहेको छ वा समाजवाद ? परिवारवाद र सामुहिकतवाद मध्य तपाइहरुको पहिलो रोजाइ कुन हो ? दलालसंग दोस्ती, माफियासंग मस्ती अनि कार्यकर्तामाझ जाँदा समाजवादका चर्का सैद्धान्तिक भाषण यो पत्याइदिनुुपर्ने विडम्बना हाम्रा लागि कहिलेसम्म हो अब त जान्न पाए पनि हुन्थ्यो भन्ने भइसक्यो । छातिमा हात राखेर कसले भन्नसक्छ कि यो देशमा हामीले समाजवादको आधारभूमी तयार गरेका छौं ? हामीले राजनीति गरिरहेको त्यहि भूगोल होइन जहाँ मोहम्मद अब्ताब आलम र दिपक मनाङेहरु निर्वाचित हुने गर्छन् । हाम्रो समानुपातिक प्रणाली राज्यलक्ष्मी गोल्छा, सूर्यबहादुर सेन ओली,लगायत दर्जनौं घरानियाहरुको संसद भवन छिर्ने घोडा होइन ? हामीले यहि गणतन्त्रमा दर्जनौं ठेकेदारहरुको अनपेक्षित संसद प्रवेश देखेका छैनौं ? द्रब्य को वजनले ठेकेदारलाई मन्त्रीको ताज पहिराउने तपाइहरु नै होइन ? लारक्याल प्रकरण,श्याम सुन्दर गुप्ता प्रकरण यहि गणतन्त्रका चर्चित काण्ड होइनन् ? दुगड ग्रुप क्याविनेटमै छ,गोल्छा समुह संसदसम्म आयो, चौधरी ग्रुप क्याविनेट पुग्ने तयारीमै होला । यहि होइन हामीले समाजवादका लागि तयार पारेको राजनीतिक पृष्ठभूमिको आधार । बहुदलिय व्यवस्था यता गणतन्त्रसम्मका सात ओटा निर्वाचनमा निर्वाचित,समानुपातिक,समावेसी सबैतिरका अनुहारहरु एक पटक राम्ररी हेर्नुस त ?
    समाजवादका हस्ती प्रिय नेतागण तपाइहरुले नियुक्ति गरेका संवैधानिक निकायका प्रमुख लोकमान कार्कीदेखि दिप बस्न्यात,आयल निगममा गोपाल खड्का, हालैका नियुक्तिहरुको नकरात्मक मार्केट रेटिङ ,विभिन्न सँस्थानका प्रमुखहरु, राजदुत र राजनीतिक नियुक्तिहरु समाजवादको आधार तय गर्ने चिन्ताभावमा केन्द्रित छन् वा मोलतोल, आसेपासे र वफादार सिपाही छान्ने संकिर्ण मनोविज्ञानमा ? हामीले पार्टी भित्र गाउँ कमिटीदेखि केन्द्रसम्म हेर्दा तपाइहरुले दिएको सांगठनिक जिम्मेवारी होस वा सरकार र विभिन्न राजकिय जिम्मेवारी त्यसको आधार के हो ? कुनै कार्य सम्पादनको मूल्याङ्कन, निष्ठा,समर्पण,इमान्दारिता,विशिष्ट प्रतिभा,क्षमता,राजनीतिक चेतनास्तर, सांगठनिक निरन्तरता कुन चाँही आधारमा जिम्मेवारी दिने प्रचलन सुरु गर्नु भयो ? कुनै पनि होइन वास्तवमा सबैभन्दा पहिलो आधार गुट,आसेपासे,आफन्त र आफ्ना बफादार भारदारहरु ।


    अब भन्नुस यो समाजवादको मोडेल कस्तो हो ?


    जसरी कानुनको प्रभावकारी कार्यान्वयन निम्छराहरुको जान–अन्जान दोषमाथि सशक्त देखिन्छ त्यसैगरि समाजवादको मूल्य मान्यता फलो गर्ने हामी निम्छरा कार्यकर्ताहरुको दायित्व हो भने त्यो पनि ठिकै छ, तर अब कि त व्यवहारमा समाजवादलाई ग्रहण गर्नुस कि त हामीलाई समाजवादका आदर्शवादी लेक्चरहरु दिएर आफ्ना राजनीतिक दाउपेचलाई पुरा गर्ने मनसाय नराख्नुस । तल्ला कमिटीमा तल्लो तहका कार्यकर्ताले कुनै कुरा उठाउँदा अनुशासनको डण्डा बर्साउने माथि बोक्रा उतार्ने गरि एक अर्काको उछितो काढ्ने ? यो कस्तो लेनिनवादी संगठनात्मक सिद्धान्त र पद्धति हो ? आफुले परिवारवाद,भाइभतिजावादी पूँजीवाद, उपभोगवाद र उपयोगितावादको चरम आनन्द लिने हामीलाई त्याग,तपस्या र वलिदानका आदर्शहरु घोकाउने समय अब नलम्व्याउनुस । तपाइहरुले मनपरि गर्नुभएकै छ, थपडी बजाइदिने एकहुल हामी छँदैछौं, महानताको पगरी भिराइदिने दुइचार जना माफियाहरु बजारमा पाइहाल्छन् । समाजवाद त्यस्तै हो, हामी यस्तै हो कामरेड भन्दै चित्त बुझाएकै छौं । चुनावमा तपाइहरुको आर्शिवाद लिनेहरुलाई सघाइहालिन्छ , समाजवादको यो चक्र दोहोरिरहन्छ । युवाहरुको एउटा सानो समुहले चाकडी र दलालीका लागि तपाइहरुको दैलो चाहर्दै गर्नेछ । दासताको विन्ति विसाउँदै गर्ने छ । कम्युनिष्ट आन्दोलन झन् पछि झन् जिर्ण हुने छ , त्यस अवस्थामा हामी कम्युनिष्ट पार्टी बचाउन र बनाउन मैदानमा आउने छौं तर त्यो समय फलामको च्युरा चपाउनु जत्तिकै कठिन हुनेछ । त्यसैले हाम्रो अन्तिम आग्रह छ कि हामीलाई सग्लो, जिवन्त, एकढिक्का, विचार,राजनीति र सैद्धान्तिक परिचय सहित स्थापित कम्युनिष्ट पार्टी बुझाउन अब तपाइहरुले गंभिर र संवेदनशिल इररहरु करेक्शन गरिदिनुस । अभिवादन् ।