काठमाडौँ । आर्थिक अभावका कारण अस्पतालमै थन्किएको शव सुदूरपश्चिम सेवा समाजको पहलमा उठेको छ। ५ दिनदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा जन्डिसको उपचार गराइरहेका डोटीको चुरे गाउँपालिका वडा नं. ५ का ४६ वर्षीय खड्क सारु मगरको सोमबार दिउँसो निधन भएको थियो।
उनीको निधनपछि परिवारले आर्थिक कठिनाइका कारण शव अस्पतालबाट उठाउन सकेका थिएनन्। सोमबार दिउँसो १ बजेदेखि शव अस्पतालमै थन्किएको थियो।
सुदूरपश्चिम सेवा समाजको पहलमा अस्पतालले आइसियु बेड चार्जमा छुट दिएको थियो, सुदूरपश्चिम सेवा समाजले मृतकको औषधि खर्च र एम्बुलेन्सको व्यवस्थापन गर्दै सोमबार राति ११:३० बजे मृतकको शव डोटी पठाएको सुदूरपश्चिम सेवा समाज कोहलपुरका संयोजक गजेन्द्र शाहीले बताए।
सामाजिक अभियन्ता गौरव रावलले भने, “आर्थिक समस्याका कारण थन्किएको शवलाई अन्तिम संस्कारको लागि डोटी पठाउन सुदूरपश्चिम सेवा समाजको पहल अत्यन्तै महत्त्वपूर्ण थियो। उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै थन्किएको थियो, तर सुदूरपश्चिम सेवा समाजको सहयोगले मृतकका परिवारलाई ठुलो राहत प्राप्त भएको छ ।