काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्माणबारे स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको बताएका छन् । उनले पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसकिएको समेत जानकारी दिए ।
विसं २०५१ सालमा शहीद भएका तात्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।
उनले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको समेत बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए ।
कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू थिए ।